सपनाको शहर मानिने राजधानी काठमाडौँमा नै किशोरीहरु यौन दुर्व्यवहारको सिकार

सबैको आफ्नो फरक खालको लक्ष्य तथा उदेश्यहरु हुने गर्दछन् आफ्नो उद्देश्यमा सहि छ या गतल भनि विचार नगरी त्यसैमा नै अडिग रहनु कहि सम्म गतल हो तथा परिवारले भनेको कुराहरु कति सम्म मान्नु पर्दछ । नेपाली समाजमा मोडलिङ् फोटोग्राफी जस्ता लक्ष्य लिनु मुर्खाता हो त्यसको लागी प्रायः परिवारको सहयोग र साथ पाउन गाह्रो पर्दछ यस्तो अवस्थामा किशोरीहरुले जस्तो सुकै कदम पनि चाल्न सक्दछन् । यस्तै सोचका कारण घर न घाट कि भईन रामेछाप घर भएकी १६ वर्षीया अर्पणा अधिकारी । उनको रुची फोटो सेसन तर उनको परिवारबाट यस क्षेत्रको लागीप् प्रतिबन्धित यसै कारणले उनी घर छोडेर सबैको सपनाको शहर काठमाडौ पसिन् । उनी भन्दा एक वर्ष जेठी उनकी फुपू दिदी सिता उनी बसिन् ।

काठमाडौँमा आएपछि उनीले फाइनसमा काम गर्ने गरेको बताईन् । तर त्यहाँ काम गर्दा राम्रो व्यवहार नभए पछि साथीहरुको लैहलैहमा लागेर डान्स बारमा काम गरेको तर त्यहाँ त ग्राहकहरुले हामीजस्ता काम गर्नेलाई छुने चलाउने गर्दा रैछन्, मलाई एकदम डरलाग्यो । मैले काम छाडें । तर, के गर्ने रु काठमाडौंमा बाँच्नै पर्यो । मैले फेरि चाबहिलको एक डान्सवारमा काम गर्न थालें ।

त्यहाँको साहुले काम गर्ने केटीलाई कुटीकुटी ग्राहकसँग पठाउने रै’छ । त्यहाँ काम गर्नेलाई गर्लफ्रेन्ड बनाउने, अनि त्यही गर्लफ्रेन्डलाई ग्राहकसँग पठाउने ।
एकदिन राति काम सकेर घर जानेबेला उसले तिमीलाई कोठा पुर्याइदिन्छु भन्यो । रातिको १२ बज्न लागेको थियो ।

बाटोमा पुगेपछि उसले एक्कासी मलाई छुन, चलाउन थाल्यो । म डरले कराएँ, चिच्चाएँ । तर, उसले छाडेन । म गाडीको ढोका खोलेर हाम्फालेर बाँचे । अहिले त्यो साहुलाई प्रहरीले थुनेर राखेको छ ।

मैले आफ्नो अस्मिता त जोगाएँ, तर अहिले म भोकभोकै हिडिरहेकी छु । घर फर्केर आमाको अगाडि मुख देखाउने हिम्मत छैन । भन्दै आफ्नो दुखेसो व्यक्त गरिन् ।

त्यस्तै अर्की युवति सन्ध्या अधिकारीको व्यथा पनि अर्पण अधिकारीको भन्दा अलि फरक छ ।

उनको विवाहा १५ वर्षको उमेरमा भयो । उनी भन्दछिन् छोरीमान्छेलाई किन बाबुआमाले बाजा बजाएर रुँदै, रुवाउँदै अर्काको घर पठाउँछन् होलाजस्तो लाग्थ्यो । छोरीलाई उमेरमै अर्काको घर पठाउनुपर्छ भन्दै मलाई पनि १५ वर्षकै उमेरमा आमाबुबाले बिहेका नाममा अर्काको घर लखेटे ।

बिहे भनेको त अरुको घरको लोग्ने मान्छेलाई ओछ्यानमा दिने सन्तुष्टि अनि उसको परिवारलाई रिझाउने बन्धन पो रै’छ । उमेर सानै भएर होला, मैले त्यतिमात्रै बुझें र त्यसैलाई निभाउने प्रयास गर्दै गएँ । रातभर श्रीमान रिझाउथें, झिसमिसे उज्यालो भएपछि उनको परिवार खुशी पार्ने होडमा आफूलाई नै बिर्सन्थें । मेरा दिनचर्या यसैगरी बित्दै थिए । बुढा खुसी नै थिए । उनलाई खुशी बनाउन मैले आफ्ना निद्राहरुलाई मारेर उनको सेवा पनि गरेकै थिएँ ।

विवाहको एक वर्ष पछि उनको बिहे गरेको एक वर्ष ठीकैसँग बित्यो । तर, अर्को बर्ष मेरा जेठाजु एक्कासी बित्नुभयो । वहाँ बितेको दोष मेरो टाउकोमा आइलाग्यो । मलाई घरमा सबैले हेला गर्न थाले । जेठाजु बित्नुभएपछि परिवार पाल्नका लागि मेरा श्रीमान विदेश जाने तयारी गर्न थाल्नुभयो ।

बुढा र घर रिझाउने अभ्यासमा मैले आफूलाई नै बिर्सिएकी थिएँ । बिहे, बुढाबुढीको सम्वन्ध अनि माया प्रेम अलिअलि बुझ्न के लागेकी थिएँ, पति मलाई राम्रोसँग बस है भन्दै विदेशतिर जानुभयो । जेठाजु मरेको दोष टाउकोमा लिएर म सासू ससुरा रिझाउने प्रयासमै थिएँ, एक वर्षपछि एक्कासी विदेशमा बुढा बितेको खबर आयो ।

एकातिर आफ्नो जीवनसाथीले रोपेको मायाको विउ मभित्र उम्रँदै थियो, अर्कातिर सासू ससुराका दुईवटै छोरा मारेको आरोप मैमाथि लाग्यो । बाँच्नुको औचित्य नै देख्दिनथें म त्यसबेला । बुढालाई सम्झेर रातभरि रुन्थें । चिच्याउँथें । मलाई पनि तिमीसँंगै लैजाउ भन्थें । तर, काल नआई कहाँ जान पाइँदोरहेछ र ?

मलाई सासू ससुराले घरमा बस्नै दिएनन् । म बाध्य भएर काठमाडौं आएँ र एउटा कपडा फयाक्ट्रीमा काम गर्न थालें । पाँच हजार तलव हुन्थ्यो । तर, त्यतिले के खाने ? कोठाभाडा तीन हजार थियो । विकल्प खोज्दै जाँदा एक जना गीत गाउने साथीले दोहोरीमा टिप्स हुन्छ, आऊ भनेर बोलाइन् । मैले गंगबुको एक दोहोरीमा काम गर्न थालें ।

अहिले मेरो तलव ३५ सय छ । टिप्स पाउन त ग्राहकसँग बसेर लठ्ठ हुने गरी पिउनु पर्छ । साहुले पनि धेरै पिउनेलाई मात्रै माया गर्छन् । किनकि त्यसो गर्दा टिप्स धेरै आउँछ । हामीलाई पनि धेरै पिएपछि मात्रै ग्राहकले गरेको दुर्व्यवहारलाई आँखा चिम्लिएर उसलाई खुशी पार्न अलि सहज हुँदोरहेछ । र, त्यति गर्न पाएपछि ग्राहक पनि हामीलाई प्रयोग गर्न आइराख्ने रहेछन् र साहूले पनि पैसा कमाइराख्न पाउँदारहेछन् । लुटिने हामी हौं, लुटिई नै राख्छौं ।
यो पेशामा खुशी भएर कोही नआउँदो रै’छ । विकल्प नहुनेहरु बाध्यताले नै आउँदा रै’छन् । टिप्स नपाएको खण्डमा जीवन धान्नकै लागि गेष्टसँग जाँदा रहेछन् ।

अर्पणा र सन्ध्याजस्ता व्यवसायिक यौन दुर्व्यवहारमा पर्नेहरुको जमात मनोरञ्जन क्षेत्रमा राजधानीमा प्रशस्त भेट्न सकिन्छ । राजधानीमा काम गर्ने किशोरीहरु बढी मात्रामा सिन्धुपाल्चोक, नुवाकोट, धादिङ्ग, काभ्रे, गोरखा, रामेछाप, दोलखा जिल्लाका बढी छन् । जुन जिल्लाहरु भूकम्पले बढी क्षतिग्रस्त भएका जिल्ला हुन् ।

राजधानीकै कुरा गर्नुपर्दा मनोरञ्जनका क्षेत्रहरु सञ्चालित स्थानहरु गोंगबु, सामाखुशी, ठमेल, सोह्रखुटे लगायतका स्थानहरु पनि भूकम्पले क्षतिग्रस्त बनेका छन् । यसरी हेर्दा मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोरीहरु दोहोरो रुपमा भूकम्प प्रभावित देखिन्छन् । जसले गर्दा उनीहरु साँझ बिहानको जोहो गर्न नसक्दा कति पय अवस्थामा बुझेर पनि व्यवसायिक यौन दुव्र्यवहारमा पर्ने गरेका छन् । व्यवसायिक यौन दुव्र्यवहारको स्वरुपलाई हेर्ने हो भने यसका विभिन्न रुप छन् ।
 

भूकम्पमा परिवार सबै गुमाएकी एक किशोरीलाई जागिर दिने प्रलोभनमा एकजना महिलाले काठमाडौंको डान्सवारमा पुर्याएको र उनी आफूले काम गर्ने ठाँउको मालिक लगायत ग्राहकबाट पटक(पटक यौन हिंसा सहन बाध्य भएको बताउँछिन् ।

‘खान लाउन नपुगेर म काठमाडौं आएकी हुँ । तर, अहिले म प्रहरीकै ओछ्यान बन्न बाध्य छु । तपाईहरु कारवाही गर्न हिम्मत गर्नुहुन्छ भने मेरो गोपनियता कायम गरिदिनुस्, म नाम दिन तयार छु’ उनले राजधानीमा आयोजित एक गोष्ठीमा खुलेरै यसो भनिन् ।

डान्सवार, रेस्टुरेन्ट, मसाज पार्लर, खाजा घर, होटल, गेष्ट हाउस तथा ईट्टाभट्टाहरुमा बालबालिका तथा किशोरीको प्रयोगको स्थिति हेर्दा आर्थिक रुपमा विपन्न वर्गका मानिसहरु नै विभिन्न प्रकारको यौन शोषणमा पर्ने जोखिम प्रतिदिन बढिरहेको देखिन्छ । यसलाई आधुनिक दासताको स्वरुपका रुपमा लिन सकिन्छ । विश्वको परिवेशलाई हेर्ने हो भने सन् २०१४ मा नेपालमा यस्ता आधुनिक दासहरुको संख्या दुई लाख २८ हजार ७ सय रहेको अनुमान छ । जुन समाजमा बढी विभेद छ, त्यही समाजमा आधुनिक दासताको तथ्याङ्क उच्च रहेको अध्ययनले देखाएको छ ।

नेपालको सन्दर्भमा सन् २०१३ को तुलनामा सन् २०१४ मा आधुनिक दासता सूचकांकमा केही सुधार आए पनि नेपाल आधुनिक दासता भएका सूचिमा अझै पनि माथि नै छ । उच्च खानदान र मध्यम सहरिया वर्गहरुले गरिबका छोराछोरीलाई ग्रामीण भेगबाट ल्याएर घरेलु कामदारका रुपमा राख्ने गरेका छन् ।
 

नेपाली ग्रमिण भेगका किशोरीहरुलाई रोजगारी तथा धनको लोभ देखाई ललाई फकाई भारतका कोठीमा लगि बेच्ने मात्र नभई भारतको बाटो हुदै अवैध रुपमा साउदी अरब, कुवेत र यमनजस्ता खाडी मुलुकमा घरेलु कामदारका रुपमा लगिएका नेपाली चेलीहरुको दर्दनाक कथा हामीले पढ्ने र सुन्ने गर्छौ ।
यति मात्र नभएर मलेसिया, तथा अफ्रिकाका डान्सवारमा नेपाली युवतीहरु आपूर्ति गर्ने सञ्जाल र यसरी लगिएका युवतीहरुलाई देह व्यापारमा लगाइने गरेको पाइन्छ । चरम गरिबी र बेरोजगारी, घरवारविहीनता, सम्पति विहीनता, सामाजिक विभेद, न्यून जीवनवस्तर, न्यून उत्पादकत्व, सुविधामा पहँुच नहुनु, शिक्षा र चेतनाको स्तरमा कमी, कमजोर स्वास्थ्य स्थिति जस्ता अवस्थाहरु आधुनिक दासतातिर समाजलाई धेकेल्ने प्रमुख कारकतत्व हुन् ।


राजधानी छिरिसकेका र कुनै न कुनै रुपमा यौन दुव्र्यवहारमा परिसकेका बालबालिका तथा किशोरीहरुलाई उद्धार एवं पुनर्स्थापनाको प्रयास सँगसँगै गाउँबाटै ती बालबालिकालाई शहरसम्म आउनुपर्ने बाध्यतालाई कम गर्नका लागि आर्थिक सशक्तीकरणका कार्यक्रमहरु गाउँगाँउसम्म पुर्याउन जरुरी देखिन्छ ।
वर्तमान परिवेशलाई हेर्ने हो भने भूकम्प पश्चात विस्थापित भएर सहरतिर पसेका बालबालिकाको संख्या पनि बढेको देखिन्छ । राज्यले आफ्नै देशभित्र रोजगारीको वातावरण सिर्जना, आर्थिक उन्नति र प्रत्येक नागरिकमा यसको समतामूलक वितरण गर्न सकेको खण्डमा आधुनिक दासताको जोखिममा रहेकाहरुलाई धेरै हदसम्म बचाउन सकिन्छ ।

सरकारले भूकम्पपीडितहरुको राहत तथा पुनर्निर्माणका लागि अरबौं रुपैयाँ जम्मा गरे पनि त्यो रकम लक्षित समूहसम्म पुर्याउन नसक्नु र भूकम्प प्रभावितहरुका लागि स्थानीय तहमा सीपमूलक तालिम प्रदान गर्न नसक्नुले पनि महिला किशोरी तथा बालबालिकाहरु बढी जोखिममा परेका हुन् ।

सरकारले भूकम्पपछिको पुनर्निर्माणमा ८ खर्ब ३८ अर्ब रुपैयाँ बजेट अमुमान गरी पुर्ननिर्माणको खाका सार्वजनिक गरेर भूकम्पपछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदनले अनुमान गरेभन्दा एक खर्व ६९ अर्ब बढीको लागतसहितको पुनर्निर्माण रणनीति सार्वजनिक गरी सोही अनुसारको कार्यक्रम अगाडि बढाएको छ । तर, पुनर्निर्माण प्रक्रियामा महिला तथा किशोरीहरुलाई स्थानीय तहमा परिचालन गर्न भने सकेको छैन ।

गाउँमा महिलाहरुले वडा, गाउँ र नगरपालिकामा स्वास्थकर्मीका रुपमा, बचत समूहका नाममा, आमा समूह तथा जेटीएका रुपमा स्थानीय अर्थतन्त्र धानेका छन् । तसर्थ महिला तथा किशोरीहरुलाई राज्यले उनीहरुको आवश्यकताको पहिचान गरी स्थानीय तहदेखि नै परिचालन गर्न सकेको खण्डमा आर्थिक अवस्था कमजोर भएका घरवारविहीन, अशिक्षित परिवारका बालबालिका तथा किशोरीहरु घर छाडेर कामको खोजीमा शहर छिर्नुपर्ने बाध्यतामा कमी आउने देखिन्छ ।

रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बेस भनेझै किशोरीहरुलाई स्थानीय तहमै ‘क्यास फर वर्क’ अर्थात काम गरेवापत नगद पाउने काममा, घर भत्काउने, बनाउने, सिकर्मी, डकर्मी, प्लम्बर, इलेक्ट्रिसियन, बिउ उमार्ने, बेच्नेजस्ता परम्परागत काममा प्रयोग गर्न सकिएको खण्डमा महिला तथा किशोरीलाई स्थानीयस्तरमै रोजगार प्रदान गर्न सकिन्छ । यसले गर्दा उनीहरुलाई कामको खोजीमा सहर पस्नुपर्ने बाध्यतामा कमी आउँछ । अन्ततः यसले दीर्घकालीन रुपमा व्यवसायिक यौन दुर्व्यवहारको जोखिमलाई घटाउँदै लैजाने देखिन्छ ।