घाँटी रेटेर हत्या गर्न खोजिएका युवकलाई उपचार गराउन आर्थिक अभाव

जनकपुर, चैत १४ – जनकपुरमा घाँटी रेटेर हत्या गर्न खोजिएका युवकलाई उपचार गराउन आर्थिक अभाव भएको छ । गएको फागुन ११ गते जनकपुरको मुजेलिया स्थित सशस्त्र प्रहरी चेक पोष्ट अगाडि आधा घाँटी रेटिएको अवस्थामा भेटिएका जनकपुर उपमहानगरपालिका– १४ रजौलका २० वर्षे गौतम झा लाई उपचार गराउन आर्थिक अभाव भएको हो । गौतमको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

गौतमको परिवारमा आमा मात्र हुनुहुन्छ । पारिवारिक अवस्था पनि सामान्य भएकाले उनको उपचारमा समस्या भएको हो । उनको उपचार गर्दा अहिलेसम्म तीन लाख ५० हजार रुपैयाँ ऋण लागेको आमा इन्द्रकला झाले बताउनुभयो । उहाँले दुखेसो पोख्दै भन्नुभयो ‘चकित्सकले ६ महिनासम्म उपचार गराउनु पर्छ भनेको छ । अझै कति लाख रुपैयाँ खर्च हुन्छ । कहाँबाट ल्याउने । कसरी उपचार गराउने ?’ सम्पतिको नाममा मात्र चारधुर घडेरी बाहेक अरु केही नभएको र त्यो घडेरी पनि बैंकमा धरौटी राखेर ऋण लिई चुराको व्यवसाय गरेको आमा इन्द्रकलाले बताउनुभयो ।  

एक मात्र छोरा गौतम भएकाले गौतमको जीवन रक्षाका लागि उपचारमा आर्थिक सहयोग गरी दिन आमा इन्द्रकलाले सबैसँग गुहार गर्नुभएको छ ।घाइते छोरो अहिलेसम्म राम्ररी बोल्न नसकेको र नाकको नलीमार्फत खाना खुवाउने गरेको आमाले बताउनुभयो । 

गौतमको घाँटी रेट्ने पूर्पक्षका लागि थुनामा

गएको फागुन ११ गते दिउँसो ३ बजे गौतम आधा घाँटी रेटिएर अवस्थामा जनकपुरको मुजेलिया स्थित सशस्त्र प्रहरी चेक पोष्ट अगाडि फेला परेका थिए । 
हत्या प्रयासमा संलग्न फिरोज राइन र सकुर राइन दुवै जनालाई प्रहरीले धनुषा जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । धनुषा जिल्ला अदालतले गत शुक्रबार उनीहरुलाई पूर्पक्षका लागि जलेश्वर कारागार पठाएको छ ।

लेनदेनको कारण भएको थियो घटना

प्रहरीका अनुसार उनीहरुबिच केहि लेनदेन र बाँडफाडको विषयलाई लिएर फिरोज र सकुरले चुरोट खाने बहाना बनाएर गौतमलाई मुजेलिया स्थित धन्कारटोलको बाँस घारीमा लगि धारिलो हतियारले घाँटी रेटी हत्या प्रयास गरेका थिए । दुवै जनाले आँधा घाँटी रेटेर भागेपछि गौतम गम्भीर अवस्थामा पनि सहारा खौज्दै मुजेलियाको सशस्त्र प्रहरी चेकपोष्ट अगाडि हिँड्दै पुगेका थिए  ।