चार दिन पश्चात छोरी जनकपुरबाट भेटिएपछि

जनकपुर, चैत १४ – भारतको दरभंगाबाट अपहरणमा परेकी बालिका जनकपुरमा अपहरण मुक्त भएकी छन् ।

दरभंगा उर्दुबजार बस्ने सिकिन्दर अलिकी १० वर्षकी छोरी साना अलि गएको शुक्रबार घरबाट पसलमा जाँदै गरेको बेला अपहरणमा परेकी थिइन् । दुई जना नकाव एवं हतियारधारी अपहरणकारीले सानालाई अपहरण गरी तीन दिन पश्चात आइतबार जनकपुर बस स्टेण्डमा ल्याई पुर्याएका थिए । बस स्टेण्डमा प्रहरीलाई देखेपछि अपहरणकारी भागेको सानाको भनाई छ । अपहराणकारी भागेपछि अपरिचित ठाउँमा विचल्लीमा परेर रुदैँ गरेकी सानालाई जनकपुरमा इअटोरिक्सा चलाउने जनकपुर उपमहानगरपालिका–१६ का दुर्गेसकुमार साहले जनकपुरको कविर अनाथ बाल आश्रममा पुर्याउनु भयो ।  

त्यस पश्चत सोधपुछ गर्दा बालिका आफू अपहरणमा परेको सुनाउँदा आश्रमका सञ्चालक सत्यनारायण आलोकले प्रहरी प्रशासन र सानाको घरपरिवारलाई जानकारी गराउनुभयो । सोमबार सानाको घरपरिवार छोरी लिन जनकपुर आएका थिए । बालिकालाई सोमबार नै धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्य र धनुषाका ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीको रोहबारमा परिवारजनलाई जिम्मा लगाइएको छ ।  

चारदिनदेखि छोरी वेपत्ता हुँदा सानाको घरपरिवारमा रुवाबासी चलेको थियो । आफन्तहरुमा खोजविन गर्दासमेत फेला नपरेपछि परिवारजनले गएको शनिबार दरभंगाको लरहेरियासराय पुलिस थानामा निवेदन दर्ता गराएको बुबा सिकिन्दर अलिले बताउनुभयो । 

गएको शुक्रबार दिउँसो बजारमा स्टेशनरी सामान किन्न जान लागेको बेला बुलेरो गाडीमा आएका नकावधारी दुई जनाले आफूलाई सडकबाट उठाएर गाडीमा हाली लगेको बताइन् । सानका अनुसार दुवै अपहरणकारीले पेस्तोल देखाउँदै अपहरण भएको बताएर ज्यान मार्ने धम्की दिँदै घरपरिवारको मोवाइल नम्बर मागेको थियो ।  आफूले नम्बर थाहा नभएको बताएपछि उनीहरुले त्यहाँबाट रहमान खान भन्ने स्थानमा गएर त्यहाँबाट बसमा चढाएर पटना, मुजफरपुर, सितामढी, भिठ्ठामोड हुँदै जनकपुरसम्म ल्याएको सानाको भनाई छ । चार दिन पश्चात छोरी जनकपुरबाट भेटिएपछि घरपरिवार खुशी भएका छन् ।