‘द कपिल शर्मा शो’ बन्द हुँदै

मुम्बइ। कपिल शर्माका फ्यानहरुको लागि दुःखद् खबर छ । छिट्टै ‘द कपिल शर्मा शो’ बन्द हुँदैछ । कपिल शर्मा र सुनिल ग्रोवरको विवादका कारण च्यानलले शो बन्द गर्ने फैसला गरेको छ । तर, यस विषयमा सोनी टिभी र कपिलका प्रोडक्सन हाउस केनाइनले यसको आधिकारिक पुष्टि भने गरेका छैनन् । रिपोर्टका अनुसार पछिल्लो समय सुनिल ग्रोवर, चन्दन प्रभाकर र अलि असगरले कपिलसँग काम गर्न नमानेपछि उनले अन्य कमेडियन राजु श्रीवास्तव, सुनील पल र अहसान कुरैसीलाई शोमा ल्याएका थिए ।  तर सोनी टिभी यसबाट खुसी छैन ।

हालै जब सेटमा कोही सेलिब्रेटी आएनन् कपिललाई आफ्नो शोको शुटिङ बन्द गर्नुपर्‍यो । सुटिङ रोकेर अहिले कपिल आफ्नो फिल्म फिरंगीको सुटिङका लागि वीकानेर गएका छन् । उनी २९ मार्चमा फर्कनेछन् । केही समयअघि २०१७ भरी फिल्मबाट टाढा रहनको लागि कपिललाई सोनी च्यानलले १ सय १० करोड रुपयाँको अफर दिएको थियो। यसका लागि कपिल राजी पनि थिए । तर, यस्तो बेलामा शो बन्द गर्नुपर्दा कपिललाई निकै ठूलो घाटा पर्ने बताइएको छ ।