छोरालाई बेलायत भेट्न जाँदा अंग्रेजी नआएपछि कक्षा आठको परिक्षा दिंदै ६३ वर्षिया कालीकादेवी बिष्ट

चैत्र १० । डिग्री पास भएका छोरालाई भेट्न बेलायत जाँदा अंग्रेजी बोल्नु पर्ने बाध्यताले सताएपछि त्यहाँबाट फर्केर एक बृद्धा कक्षा आठको परिक्षा दिन थालेकी छन् । जमानामा पाँच कक्षा पढेकी बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँकी ६३ वर्षिया कालीकादेवी बिष्टलाई बेलायतमा अंग्रेजी बोल्न समस्या परेपछि बुढेसकालमा अहिले कक्षा आठको परिक्षा दिइरहेकी छन् ।

बिष्टले आफ्ना चार छोरामध्ये दुई छोरा बेलायत र पोर्चुगलमा तथा दुई छोरा काठमाडौँमा जागिरे रहेको बताइन् । उनले भनिन्  –‘विदेशमा रहेका छोराहरुलाई भेट्न जाँदा पनि अंग्रेजी बोल्नु पर्ने भएकाले मलाई पढ्नु पर्दोरहेछ भन्ने चेतना आयो ।’ पहिले मुस्किलले आफ्नो नाम लेख्न सक्ने बिष्टका अहिले अक्षर एकदमै राम्रा छन् । ढाड दुख्ने समस्याले उपचारको क्रममा एक महिनादेखि काठमाडौंमा रहेकी बिष्ट जहाज चढेर स्थानीय डुम्रेनी गाउँको जनचाहना आधारभुत विद्यालयमा कक्षा ८ को जिल्लास्तरीय वार्षिक परीक्षा दिन आएकी हुन् ।

मेहनतले स्कूलमा गएर पढेकाले आठ कक्षाको परिक्षामा पक्कै पास हुने आशा रहेको उनको भनाई छ । उनले भनिन् –‘अहिलेसम्म परिक्षा दिएका सबै बिषयहरु राम्रै भइराखेका छन् ।’ उनी एक राजनीतिक कार्यकर्ता पनि हुन् । बर्दिया क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रहेकी बिष्टलाई राजनीतिक पार्टीका विभिन्न कार्यक्रममा नपढेकी भनेर होच्याउने गरिएकाले पनि पढेर देखाइदिन्छु भन्ने ईख जागरे आएको हो ।

जागिर खान मात्र होइन राजनीति गर्न पनि पढाई चाहिँदोरहेछ भन्ने बिष्टले आफू स्थानीय तलको निर्वाचनमा ठाकुरबाबा नगरपालिकाबाट मेयर र उपमेयर मध्ये कुनै एक पदमा उठ्ने योजना रहेको बताइन् । बुढेसकालमा उनले आफू मात्र होइन आफूजस्तै अन्य अनपढ महिलाहरुलाई पनि पढ्नु पर्छ भन्दै हौसला दिन थालेकी छन् । एकल महिला विष्ट भन्छन् –‘खाने मुखलाई जुँगालेले छेक्दैन भने झैं पढाईलाई पनि उमेरले छेक्दैन ।’