कमाउनको लागी परदेश पसेका युवा नेपालमा अर्धचेत अवस्थामा, सरकारले हाम्रो लागी केही गरेन परिवारको गुनासो

बाँकेको रनियापुर-५ मनकामनापुरका ३६ वर्षीय लोकराज सुवेदी वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । उनलाई अर्धचेत अवस्थामा नेपाल ल्याएको छन् । २०६८ साल असोजमा वैदेशिक रोजगारीका लागि मलेसिया गएका सुवेदी तीन तलामाथिबाट खसेर मेरुदण्डको हड्डी भाँचिएको भनिएको छ । उनी अहिले दिसापिसाब ओछ्यानमै गर्दछन् र घरीघरी बरबराउँछन् । घटना कसरी भयो भन्नेमा परिवार भने जानकार छैन ।

कसैले अग्लो ठाउँबाट फालिदिए जस्तो ढाड भाँचिएको छ, टाउकोको पछाडि चोट छ । अरूतिर केही भएको छैनु, वृद्ध बाबु डेमलाल सुवेदीले भने, ‘आफैं लडेको भए त अरूतिर पनि चोट लाग्नुपर्ने हो ।" ‘मेरो छोरो कसरी त्यस्तो अवस्थामा पुग्यो, सरकारले पत्ता लगाइदिनुपर्यो", डेमलालले भने ।
घटनाको भएको १० दिनपछि लोकराजको सास मात्रै बाँकी राखेर मलेसियाबाट पठाइएको छ । माघ ५ गते घटना भएको थियो । १५ गते सास मात्रै बाँकी राखेर नेपाल पठाइएको थियो । रोजगारीका लागि मलेसिया गएका झापाका एक व्यक्तिको साथ लगाएर घटना भएको १० दिनपछि लोकराजलाई नेपाल पठाइएको थियो ।

२० दिन जति काठमाडौस्थित त्रिवि शिक्षण अस्पतालमा राखेर घर ल्याइएको श्रीमती विष्णु सुवेदीले बताइन । उपचारका क्रममा ८ लाखभन्दा बढी खर्च भइसकेको श्रीमती विष्णुले बताइन् ।

‘काठमाडौंमा राख्दा धेरै खर्च हुने भएपछि घर ल्याएका हौ", श्रीमती विष्णुले भनिन् । आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा समस्या भएको उनको दुखेसो छ ।

पाँच वर्षसम्म मलेसियाको क्वालालम्पुर विमानस्थलमा काम गरेका सुवेदीको अवस्था गम्भीर छ । अर्धचेत अवस्थाका सुवेदी भन्छन्, ‘मलाई दुईजनाले समातेर फालिदिए ।" लोकराजका नाबालक २ छोराछोरी छन् । कमाएर घर धान्ने लोकराज नै ओछ्यान परेपछि श्रीमती, नाबालक २ छोराछोरी तथा वृद्ध आमाबाबुको बिचल्ली भएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण वैदेशिक रोजगारीका लागि गएका सुवेदीले न क्षतिपूर्ति पाएका छन् न त उपचार खर्च । परिवारलाई क्षतिपूर्ति, औषधि उपचार खर्चका लागि कसलाई भन्नेसमेत जानकारी छैन । मलेसिया पठाउने वैदेशिक रोजगार कम्पनीले समेत वास्ता नगरेको श्रीमतीले बताइन् ।