आफुलाई नेपाली सेनाको हेडक्वाटरमा कार्यरत क्याप्टेन अर्जुन कटुवाल हुँ र जागिर लगाईदिन्छु भनी २ लाख देखी ३ लाख सम्म ठगी

काठमाडौं, १२ फागुन - जिल्ला सिन्धुली गा.वि.स. सोल्पा ठाना वडा.नं-८ का भवानी खड्का समेतका व्यक्तिहरुलाई जिल्ला ओखलढुङ्गा, मानेभञ्याङ गा.वि.स.वडा नं. ९ स्थायी घर भई हाल ललितपुर ग्वार्को बस्ने बर्ष ३३ को धन बहादुर परियारले आफुलाई नेपाली सेनाको हेडक्वाटरमा कार्यरत क्याप्टेन अर्जुन कटुवाल हुँ भनी नेपाली सेनाको सिपाही पदमा जागिर लगाईदिन्छु भनी प्रलोभनमा पारी प्रति व्यक्ति २ लाख देखी ३ लाख सम्म लिएको ।

निज धन बहादुर परियारले पिडितहरुलाई नेपाली सेनाको सिपाही पदको नियुक्ति पत्र दिन्छु भनेको । जागिर नपाएपछि निजलाई कारबाही गरी पाउँ भनि महानगरीय प्रहरी अपराध महाशाखामा चार जना पिडित तथा आफन्तहरुले दिएको निवेदन सम्बन्धमा अनुसन्धानको क्रममा निज धन बहादुर परियारलाई मिति २०७३।११।१० गते जिल्ला ओखलढुंगाबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि मिति २०७३।११।१२ गते महानगरीय प्रहरी परिसर, टेकु काठमाण्डौ पठाईएको छ ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु:-
- निज धन बहादुर परियारले अरुलाई प्रलोभनमा पार्न नेपाली सेनाको क्याप्टेन दर्जाको युनिफर्म लगाएर खिचेको आफ्नो फोटो बाड्दै हिँडेको । 
- निजले पिडितहरुसँग भेटी नेपाली सेनाको भर्ना खुलेको समयमा फारम भर्न लगाई पिडितहरुको दर्ता नम्बर साथै नगद पैसा समेत लिने गरेको ।
- निजले अरुलाई आकर्षित गर्न भाडामा मोटर साईकल लिई हिड्ने गरेको । यसै क्रममा निजले मिति २०७३।०८।०८ गते मनकामना मोटर साईकल वर्कशप एण्ड रिकन्डिशन बाट बा. ७६ प. ४६६७ को निलो पल्सर मोटरसाईकल भाडामा लिई फिर्ता नगरेको र सो सम्बन्धमा समेत पिडितले निबेदन दिएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।