६ महिना देखि काम र तलव नपाएका ३३ जना नेपाली साउदीमा अलपत्र

रमा मगर/उदयपुर - फागुन १३– साउदीको एक कम्पनीमा ३३ जना नेपाली अलपत्र परेका छन् । साउदीको अल अलवन कन्ट्रयाक्टिङ एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत नेपालीले ६ महिना देखि काम र तलव नपाएका हुन् । उनीहरुले शुक्रबार जिल्ला विकास समिति उदयपुरले सञ्चालन गरेको सुरक्षित आप्रवास सूचना तथा परामर्श केन्द्रमा फोन गरेर उद्धारका लागि आग्रह गरेका छन् । 

अलपत्र हुनेमा भलायडाँडा ४ उदयपुरका टेक बहादुर तामाङ, धादिङ निलकण्ठ नगरपालिका २ का बलबहादुर गुरुङ लगायत ५ जना, काभ्रेपलान्चोकका जगतमान तामाङ, कन्चनपुरको कृष्णपुर नगरपालिका २ का दिपेन्द्र खड्का लगायत ३३ जना रहेको जानकारी गराएका छन् । लटुस ह्युमन रिसोर्स म्यानपावर कम्पनीबाट २०७२ सालको असोजमा गएपनि पहिले काम र तलव पाएको र पछि ६ महिनादेखि नपाएको गुनासो गरेका छन् । ६ महिना देखि भने मासिक ५० रियाल मात्रै दिँदै आएको छ ।

अकामा कार्डको म्यादपनि सकियोले आफूहरु जोखिम रहेको भन्दै दूतावासलाई गुहारेका थिए । दूतावासमा उजुरी गरेपनि सुनुवाई नगरि लेवरकोटमा जान सल्लाह दिएको पीडितले बताएका छन् । सूचना केन्द्रल प्रवासी नेपाली समन्वय समितिलाई उद्धारका लागि आग्रह गरेको छ ।