भुकम्पले भत्किएको विद्यालयको पुनः निर्माण हुन नसक्दा बालबालिकाहरु शिक्षाबाट बन्चित

 

२०७२ वैशाख १२ गते गएको भुकम्पले भत्किएको विद्यालयको पुनः निर्माण हुन नसक्दा बालबालिकाहरु शिक्षाबाट बन्चित हुन पुगेका छन् । काउले ४ स्थित राक्सीराङकी सानुमाया चेपाङका ६ छोरा र २ छोरी छन् । ५ छोरा र २ छोरीले १ २ कक्षा पढेर छाडे । तर कान्छो पूर्णबहादुरलाई पढाउने धोको छ । घर छेउ रहेको विद्यालय भवन भत्किएसँगै उ पनि पढाईबाट वन्चित छ ।  

उनले कान्छो छोरा शिशुमा पढिरहेको थियो अब भीरपाखा हुँदै विद्यालय जानुपर्ने भएकाले समस्या छ । छोरालाई पढाउन नपाउँदा निराश छिन् । सहरमा लगेर पढाउन सक्ने आर्थिक अवस्था छैन । ‘अरू सन्तानले पढेनन्, यसले पढ्ला किजस्तो थियो,’ उनले भनिन्, ‘विद्यालय भत्किएपछि आस मर्‍यो ।’ उनको जस्तै समस्या काभ्राङ र तारबाङका बासिन्दाको पनि छ । नजिक विद्यालय छैनन् । धादिङको गैराङमा रहेको निमावि जान ३ घण्टा बढी हिँड्नुपर्छ । केहीले दुस्ख गरी पढन पठाउँछन् । टाढा त्यसमाथि भीरको बाटो जानुपर्ने भएकाले बालबालिका जान मान्दैनन् । ‘गाउँमा पानीको ठूलो समस्या छ,’ स्थानीय सिर्जना चेपाङले भनिन्, ‘त्योभन्दा ठूलो समस्या विद्यालयको छ, विद्यालय नहुँदा छोराछोरी पढाउन सकेनौं ।’

गाउँका ५८ बालबालिका विद्यालय जानबाट वञ्चित छन् । गाउँमै प्राथमिक शिक्षा पाएका बालबालिका भूकम्पले भवन भत्किएपछि पढनबाट वञ्चित भए । हात्तीबाङ माविको समन्वयमा शिक्षा कार्यालयमार्फत विद्यालयबाहिर रहेका बालबालिकालाई पढाउने गरिएको थियो ।

शिक्षिका अमृता थापामगरले गाउँमै पुगेर पढाउने गरेकी थिइन् । ‘३ छोराछोरी पढाइबाट वञ्चित छन्,’ गोमा चेपाङले भनिन्, ‘गाउँमै विद्यालय थियो, छोराछोरीले अक्षर सिक्न पाएका थिए, भूकम्पले भवन भत्किएपछि छोराछोरीले पढन पाएनन् ।’ उनले गाउँमै पहिलाजस्तै विद्यालय बनाएर छोराछोरी पढने व्यवस्था मिलाइदिन माग गरिन् । यो गाउँमा चेपाङ समुदायको बसोबास छ । पढाइबाट वञ्चित बालबालिका मजदुरी गर्न बाबुआमासँगै मेलापातमा जान बाध्य छन् ।

‘विद्यालयबाहिर रहेका बालबालिकालाई एसओपी कार्यक्रमअन्तर्गत राक्सीराङमा पढने व्यवस्था मिलाइएको हो,’ राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रअ रमेश रसाइलीले भने, ‘भूकम्पले भवन भत्किएपछि समस्या भयो, त्यहाँ पढाउने शिक्षकका लागि तलब हाम्रै स्कुलमा निकासा हुने गथ्र्यो ।’ उनका अनुसार ०६७ सालमा भवन निर्माण गरी पढाइ सुरु गरिएको थियो । ०७२ सालबाट बन्द भयो ।

अहिले भवनको भग्नवाशेष मात्र बाँकी छ । ‘त्यो ठाउँबाट यहाँ पढन आउन समस्या छ, भौगोलिक विकटताले गर्दा अभिभावकले पठाउन सक्दैनन्,’ उनले भने, ‘त्यही भएर त्यो ठाउँमा एउटा प्राविको आवश्यकता छ, यो समस्या शिक्षा कार्यालयमा जानकारी गराइसकिएको छ ।’ कहाँ गएर भन्ने, कसलाई भन्ने भन्दै अभिभावक चिन्तित छन् ।

‘अशिक्षाले गर्दा हामी पछि परेका छौं,’ शोभा चेपाङले भनिन्, ‘अब पनि हाम्रा छोराछोरीले पढन नपाउने भए कहिले परिवर्तन हुन्छौं, कहिले हाम्रो गाउँ परिवर्तन हुन्छ रु’ गाउँलेको मुख्य माग छोराछोरी पढाउन पाउनुपर्ने भन्ने छ ।

जिशिअ गोविन्दप्रसाद अर्यालले एसओपी कार्यक्रम ३ वर्षको भएको र त्यो सकिएको बताए । ‘२ महिनाअघि उक्त गाउँको समस्याबारे कार्यालयमा जानकारी आएको थियो,’ उनले भने, ‘पुस मसान्तमा विद्यालय माग गर्नुपर्नेमा गरिएन, त्यही भएर ढिला भयो ।’ उनले वैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुने र अन्यत्र सञ्चालित बालविकास कार्यक्रमलाई त्यता मिलाउने प्रयास गरिने बताए ।

‘विद्यालयबारे हामी सोचिरहेका छौं,’ उनले भने । विकटका बालबालिका विद्यालयबाहिर हुँदा–हुँदै चाँडो हुने होडमा ०७१ भदौमा भव्य कार्यक्रमको आयोजना गरी जिल्लालाई साक्षर घोषणा गरियो । त्यो बेला विद्यालयबाहिर कोही छैनन् भन्ने भयो । त्यस्तै टाढा भएर विद्यालय जानबाट वञ्चित बालबालिका अझै छन् । साना बालबालिकालाई ३ घण्टा टाढाको विद्यालय पढाउन पठाउन अभिभावक हिम्मत गर्दैनन् । ०६५ बाट साक्षरता अभियान चलाएर जिल्लालाई साक्षर घोषणा गरिएको हो । साक्षरता घोषणा गर्ने क्रममा २ करोड ३२ लाख खर्च भयो । तर, बालबालिका अझै विद्यालयबाहिर छन् ।