म्यानपावर सञ्जालक राजदूतको विरोध सामाजिक सञ्जालमा

उजिर कार्की - काठमाडौं, फागुन १२– अहिले म्यानपावर व्यवसायीका कारण विदेशमा धेरै नेपालीले दुःख भोगीरहेका छन् । विदेशस्थित नेपाली दूतावासमा दिनदिनै ठगीमा परेर उजुरी गर्नेको संख्या बढिरहेको छ । तर अव दूतावासमा समेत म्यानपावर सञ्चालक नै हुने भएका छन् ।
कतिपय कामदार त अव आफूलाई ठग्ने म्यानपावर सञ्चालकसितै न्याय माग्न पुग्नु पर्ने छ । युएई र ओमनका लागि गरिएका राजदूत सिफारिस संसदिय सुनुवाई समितिले नरोके यी दुई देशका राजदूत म्यानपावर सञ्चालक नै हुनेछन् । म्यानपावर सञ्चालक सर्मिला पराजुली ओमान र आशा लामा युएईका लागि राजदूत सिफारिस भएका हुन् । यी देश म्यानपावरले ठग्ने मध्यका प्रमुख देश समेत हुन् ।

गएको फागुन ८ गते मन्त्रीपरिषद बैठकले यीनै देशमा म्यानपावर सञ्चालकलाई राजदूतमा सिफारिस गरेको छ । सिफारिस गरे लगतै चौतर्फि विरोध सुरु भएको छ । लामा कांग्रेस र पराजुली मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको कोटाबाट सिफारिस भएका हुन् ।
कांग्रेस कोटामा सिफारिस भएकी लामा माथि चेलिबेटी बेचविखनको मुद्दा समेत परेको थियो । लामाको म्यानपावर कम्पनीले विदेशमा महिलालाई पठाउँदै आएको छ । त्यसो त लामा कांग्रेस नभएको भन्दै पार्टी भित्रैबाट समेत विरोध भएको छ । म्यानपावर व्यवसायीले समेत रुचाएका छैनन् । कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले कांग्रेस सभापती शेरबहादुर देउवा र परराष्ट्र मन्त्री प्रकाशसरण महतलाई निर्णय सच्याउन माग गरेको छ । सामाजिक सञ्जालमा समेत विरोध भैरहेको छ । कांग्रेस केन्द्रिय सदस्य डा.शेखर कोइरालाले म्यानपावर सञ्चालन गरेर बसेको व्यक्तिलाई राजदूत बनाउँदा राम्रो शन्देस नजाने र यसले पार्टीको साख गिराउने भन्दै संसदिय सुनुवाई समितिले रोक्नु पर्ने बताउनु भएको छ । राजदूत नियुक्तिमा आर्थिक चलखेल भएको समेत प्रतिक्रिया आएका छन् ।